शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले सार्वजनिक गर्यो १०० दिनको प्रगति विवरण
धनगढी । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले आफ्नो स्थापना र नेतृत्व चयनपछिको पहिलो १०० दिनको प्रगति विवरण सार्वजनिक गरेको छ । उपकुलपति प्रा. डा. सुनील कुमार जोशी र रजिस्ट्रार डा. खेमराज जोशीले पदभार ग्रहण गरेयता विश्वविद्यालयले संस्थागत संरचना, शैक्षिक तयारी र पूर्वाधार विकासमा उल्लेख्य उपलब्धि हासिल गरेको दाबी गरिएको छ ।
गएको वैशाख २३ गते उपकुलपति र रजिस्ट्रारको नियुक्तिसँगै विश्वविद्यालयले आफ्नो प्रशासनिक र प्राज्ञिक यात्रा औपचारिक रूपमा सुरु गरेको थियो । यस अवधिमा विश्वविद्यालयले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२’ बमोजिम संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गरी अर्थ मन्त्रालयबाट स्वीकृति समेत प्राप्त गरिसकेको छ ।
विश्वविद्यालयको चौथो सभाले शिक्षक तथा कर्मचारी नियमावली, आर्थिक कार्यविधि, खरिद नियमावली, र अनुसन्धान केन्द्र नियमावली जस्ता महत्वपूर्ण कानुनी दस्तावेजहरू पारित गर्दै संस्थागत सुशासनको बलियो आधार खडा गरेको छ ।
विश्वविद्यालयले चिकित्सा शिक्षाका विभिन्न विधामा पठनपाठन सुरु गर्न तीव्रताका साथ काम अघि बढाएको छ । यसै सिलसिलामा एमबीबीएस, बिडिएस, नर्सिङ, फिजियोथेरापी, फार्मेसी, जनस्वास्थ्य र अप्टोमेट्री कार्यक्रमहरूको पाठ्यक्रम मस्यौदा तयार गर्न समितिहरू गठन गरिएका छन् ।
विश्वविद्यालयको योजना अनुसार आर्थिक वर्ष २०८३/०८४ देखि ५० सिट एमबीबीएस, ३० सिट नर्सिङ, २० सिट ल्याब टेक्नोलोजी र २० सिट अप्टोमेट्रीका कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखिएको छ । यसका लागि चिकित्सा शिक्षा आयोगमा ‘सेल्फ–अप्रेजल फर्म’ समेत पेस भइसकेको छ ।
विश्वविद्यालयलाई आवश्यक पर्ने प्राज्ञिक जनशक्ति जुटाउन ७७ जना प्राध्यापक, सह–प्राध्यापक र उप–प्राध्यापक पदका लागि विज्ञापन प्रकाशन गरिएको छ । निर्वाचन आयोगको अनुमति प्राप्त गरी सुरु गरिएको यो प्रक्रियाले दक्ष जनशक्ति अभावलाई समाधान गर्ने विश्वास लिइएको छ । साथै, करार शिक्षक छनोटका लागि कार्यविधि समेत निर्माण गरिएको छ ।
विश्वविद्यालयले हाल सञ्चालनमा रहेको शिक्षण अस्पताललाई ३०० बेडमा स्तरोन्नति गर्ने योजना अघि सारेको छ । यसका साथै दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा पु¥याउन ‘स्याटेलाइट हेल्थ सेन्टर’ स्थापना गर्ने, टेलिमेडिसिन सेवा सुरु गर्ने र ‘क्याथ ल्याब’ जस्ता विशिष्टीकृत सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।
विश्वविद्यालयले चालू आर्थिक वर्ष २०८२/८३ का लागि ४९ करोड १३ लाख रुपैयाँको बजेट परिचालन गरिरहेको छ भने आगामी आर्थिक वर्षका लागि २ अर्ब ५३ करोड रुपैयाँको महत्त्वाकांक्षी बजेट प्रस्ताव गरेको छ । विद्यार्थीहरूका लागि खुसीको खबर यो छ कि विश्वविद्यालयले ७५ प्रतिशत छात्रवृत्ति सुनिश्चित गर्न पहल गरिरहेको छ, जसका लागि ७.३१ करोड रुपैयाँ सुनिश्चित भइसकेको छ । यसले जेहेन्दार र न्यून आय भएका विद्यार्थीलाई चिकित्सा शिक्षामा पहुँच पु¥याउनेछ ।
विश्वविद्यालयले संघीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहका अस्पतालहरूसँग समन्वय गरी प्रयोगात्मक अभ्यास र सेवा विस्तारका लागि सम्झौताको प्रक्रिया अघि बढाएको छ । यो १०० दिनको उपलब्धिले दशकौंदेखि गेटामा स्वास्थ्य विश्वविद्यालयको पर्खाइमा रहेका सुदूरपश्चिमवासी र समग्र नेपालीमा नयाँ आशा जगाएको छ ।



ताजा अपडेट
- किन पक्राउ परे डा. पप्पुकुमार यादव ?
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा ४ र रजिस्ट्रारमा १९ जनाको दाबी
- सुदूरपश्चिमका कुन–कुन अस्पतालको हुँदैछ स्तरोन्नति ?
- सुदूरपश्चिमको स्वास्थ्यमा ठूला वाचा, कार्यान्वयनमा कति सफल होला सरकार ?
- सुर्तीजन्य पदार्थमा कर बृद्धि इतिहासमै कमजोर, क्यान्सर जोखिममाथि राज्य मौन
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया