चितवन । कुनै समय दैनिक ६० हाराहारीमा बिरामी बोकेका एम्बुलेन्स चितवनबाट काठमाडौँ जाने गर्दथे । हिजोआज त्यो सङ्ख्या तीन÷चार वटामा झरेको छ ।
भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा भोजराज अधिकारीले झण्डै आठ वर्षअघि भरतपुरको आँपटारीमा २४ घण्टा एम्बुलेन्सको तथ्याङ्क लिँदा ६० एम्बुलेन्स बिरामी लिएर काठमाडौँ गएको विवरण सुनाए । उनका अनुसार त्यसपछिका दिनमा क्रमशः बिरामी जाने क्रम घट्दै आएको छ ।
उनले भने, “अहिले भरतपुरमा सबै खालका रोगको उपचार हुने भएपछि निकै कम मात्र बिरामी बाहिर जान्छन् ।” संयुक्त एम्बुलेन्स चालक सङ्घका केन्द्रीय अध्यक्ष नवराज लामिछाने पहिले पहिले धेरै एम्बुलेन्स चितवनबाट बिरामी बोकेर काठमाडौँ जाने गरेको बताउछन् ।
पछिल्ला दिनमा दैनिक तीन/चारवटा एम्बुलेन्स मात्रै काठमाडौँ जाने गरेको उनले बताए । टाउको, मिर्गौला, हार्डजोर्नीका गम्भीर समस्या भएका बिरामी फाट्टफट्ट जाने गरेको उनी बताउछन् ।
भरतपुरमा उपचार हुने भए पनि ठूलो अस्पताल खोज्दै र काठमाडौँमा आफन्त तथा घर भएकाहरु जाने गरेको उनले बताए । यसका अतिरिक्त एक अस्पतालबाट चितवनकै अर्को अस्पतालमा रिफर गर्ने परिपाटी नहुँदा पनि काठमाडौँ बिरामी जाने गरेको उनी बताउछन् ।
काठमाडौँ पुगेर सेवा लिँदा हुने झन्झटका कारण पनि स्थानीयस्तरमै सकेसम्म उपचार गर्न धेरैले चाहना गर्ने गरेको लामिछाने बताउछन् ।
जिल्लामा सङ्घीयस्तरको सरकारी भरतपुर अस्पताल, राष्ट्रियस्तरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई वटा ठूला मेडिकल कलेज, बागमती प्रदेशको बकुलहर रत्ननगर अस्पताल, पच्चीसभन्दा बढी निजी अस्पताल, आँखा अस्पताल, निजीस्तरको सिएमसी क्यान्सर इन्स्टिच्यूटलगायतका स्वास्थ्य संस्था यहीं भएका कारण बिरामीलाई रोजीछानी उपचार गर्ने अवसर मिलेको छ ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेल चितवनमा सेवा सुविधा र विश्वसनीयता बढेका कारण बिरामी बाहिर जाने घटेको बताउछन् । उनले भने, “क्यान्सरका धेरैजसो बिरामी काठमाडौँबाट यहाँ आउँछन् ।”
दक्षजनशक्ति, आधुनिक प्रविधि सहितका अत्याधुनिक उपकरण, सरल सेवासुविधा, बिरामीमैत्री सेवा चितवनका अस्पतालमा उपलब्ध हुन थालेपछि बिरामीको आकर्षण बढेको उनी बताउछन् । जिल्लामै रोबटिक सर्जरीसम्मको उपचार हुने हुँदा काठमाडौँका बिरामी चितवन आउन थालेपछि यहाँका बिरामी जान छाडेको उनले बताए ।
जिल्लामा स्वास्थ्य क्षेत्रमा ठूलो लगानी भएको छ । सरकारी अस्पतालमा मात्रै होइन, निजी क्षेत्रले पनि ठूलो लगानी अस्पतालमा गर्ने गरेको छ । चितवन मेडिकल कलेजका कार्यकारी अध्यक्ष प्राडा हरिश्चन्द्र न्यौपानेले डिएम र एमसिएच गरेका २७ विशेषज्ञ चिकित्सक अहिले सिएमसीमा मात्रै रहेको बताए ।
उनको भनाइमा राजधानी काठमाडौँबाट आफ्नो मेडिकल कलेजमा उपचारका लागि बिरामी आउने गरेका छन् । उनले भने, “रोबर्टिक सर्जरी, मुटु, क्यान्सर, न्यूरो लगायतका उपचारका लागि काठमाडौँबाट यहाँ बिरामी आउने गरेका छन् ।” उनले काठमाडौँमा नहुने क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्यूटमा हुन्छ । उनका अनुसार न्यूरोको ट्युमर, अर्लिस्टेजका ट्युमरको उपचार काठमाडौँमा नभइ चितवनमा हुन्छ ।
क्यान्सरको केमोथेरापी, ब्राकीथेरापी, रेडियो थेरापीलगायत सबै खालको प्रविधि र उपचार आफूहरुले सरकारी सुविधा तथा दररेटमा गर्दै आएको उनको भनाइ छ । उनका अनुसार क्रिटिकल केयरको सुविधा नेपालमा हुनेमा सबैभन्दा राम्रो चितवनमा रहेको छ । रोबर्टिक सर्जरीमा नेपालमै सबैभन्दा बढी यही हुने गरेको उनले बताए ।
मुटुको सबै खालका शल्यक्रिया यहाँ हुने गरेको भन्दै उहाँले यहाँबाट बिरामी काठमाडौं नभएर काठमाडौँबाट धेरै बिरामी यहाँ आउने गरेको दाबी गरे । चितवनमा उच्चस्तरका प्रयोगशाला, इमेजिङ्ग सेन्टर पनि रहेका छन् । त्यसका कारण रोग पहिचानमा पनि सहज हुने गरेको छ ।
आँखा उपचारका लागि नेपाल नेत्रज्योति सङ्घले भरतपुरमा सञ्चालन गरेको भरतपुर आँखा अस्पतालमा चितवन र छिमेकी जिल्लाका बिरामी आउने गर्दछन् । यहाँका अस्पतालहरुमा चितवन र छिमेकी जिल्लाबाट बिरामी आउने गरेका छन् ।
क्यान्सरका बिरामी देशैभर र भारतबाटसमेत आउने गर्दछन् । सरकारी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा लामो पालो कुर्नुपर्दा बाहिर जाने बिरामी अहिले यही चितवन मेडिकल कलेजले सञ्चालन गरेको क्यान्सर इन्स्टिच्यूटमा त्यहीको दररेटमा उपचार पाउने भएपछि बाहिर जान छाडेका छन् ।
केही वर्ष अघिसम्म बाल सघन उपचार कक्ष नहुँदा धेरै बालबालिकाको अकालमा ज्यान जाने गर्दथ्यो । त्यस्तै मुटु र टाउकोको उपचार नपाउँदा धेरैले ज्यान गुमाउनुपर्ने अवस्था थियो । अहिले यी सबैको सेवा यहीं उपलब्ध भएसँगै धेरैको ज्यान बचेको छ ।
नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा अनिलविक्रम कार्की एक दुई बाहेक सबै खालका उपचार चितवनमा हुने भएकाले बिरामी बाहिर जान रोकिएको बताउछन् । उनले भने, “सघन उपचार कक्ष, आधुनिक प्रविधि र दक्षजनशक्ति थपिँदै जाँदा यहाँको सेवा विश्वसनीय बनेको छ ।” पछिल्ला दिनमा नेपाल सरकार र निजी क्षेत्रले स्वास्थ्य क्षेत्रमा यहाँ गरेको लगानीका कारण उपचार क्षेत्रमा फड्को मारेकै कारण बिरामी बाहिर जानेभन्दा आउने बढेको उनले बताए।
ताजा अपडेट
- स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
- चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
- सेती प्रादेशिक अस्पतालमा निः शुल्क जलन उपचार शिविर हुदै
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव
- स्वास्थ्य मन्त्रीको सुदूरपश्चिम भ्रमण : शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन
- सुदूरपश्चिमका बालबालिकामा पोषणको ‘स्मार्ट सर्वेक्षण’
धेरैले पढेको
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
- डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- बुद्ध एयर जहाज दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’
- गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त
- मन्त्रिपरीषद बैठक : ११ औं तहका ४ चिकित्सकको जिम्मेवारी हेरफेर


तपाईको प्रतिक्रिया