पाठेघरको मुखको क्यान्सरः स्क्रिनिङ र खोप विस्तार जरुरी
काठमाडौँ । आज १७ नोभेम्बर, विश्व पाठेघर मुखको क्यान्सर निवारण दिवस । यस वर्ष पहिलो पटक ‘आजैदेखि लागौँः पाठेघरको मुखको क्यान्सर निवारण गरौँ’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा महिलामा पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सरका रूपमा रहेको छ ।
हरेक वर्ष विश्वमा छ लाख ६० हजार महिलालाई पाठेघरको क्यान्सर हुने र करिब तीन लाख ५० हजार महिलाको मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
नेपालमा क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो कारणमा पाठेघरको मुखको क्यान्सर रहेको छ । रोकथाम गर्न सकिने हुँदाहुँदै पनि नेपालमा प्रतिदिन छ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखापर्ने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही क्यान्सरका कारण प्रतिदिन चार जना महिलाले ज्यानसमेत गुमाइरहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले पाठेघरको मुखको क्यान्सर, रोकथाम र निवारणका लागि यस नाराले सबै सरोकार भएका निकायलाई गम्भीर बनाउने विश्वास व्यक्त गरे। उनले सबैले आ–आफ्नो स्थानबाट क्यान्सर, रोकथाम र निवारणका लागि अहिलेदेखि नै कदम चाल्नुपर्ने आवश्यकता औँल्याए ।
दिवसको अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले समयमै स्क्रिनिङ, एचपिभी (ह्यमून प्यापिलोमा भाइरस) खोप विस्तार, जनचेतना वृद्धि र स्वास्थ्य प्रणाली सुदृढीकरण गर्नुपर्ने बताए । यस रोगको निवाराणका लागि स्क्रिनिङ, खोप विस्तार अनिवार्य रहेको डा देवकोटाको धारणा छ ।
उनले भने “पाठेघरको मुखको क्यान्सर निवारण लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट गत वर्षदेखि राष्ट्रिय खोप कार्यक्रममा एचपिभी खोपलाई समावेश गरी ९४ प्रतिशत किशोरीलाई पहिलो पटक निःशुल्क सेवा प्रदान गरिएको छ । यस वर्षको फागुनमा विद्यालय जाने ६ कक्षाका छात्रा र विद्यालयबाहिर रहेका १० वर्षका किशोरीलाई उक्त खोप दिने कार्यक्रम छ ।”
यो क्यान्सर निवारणका लागि सन् २०३० सम्ममा सरकारले ९० प्रतिशत किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउने, ३० वर्ष माथिका ९० प्रतिशत महिलाको स्क्रिनिङ गर्ने र पाठेघरको मुखको क्यान्सरको निदान भएका ९० प्रतिशत महिलाको उपचार गर्ने रणनीतिक लक्ष्य लिएको छ ।
चिकित्सकका अनुसार ३० वर्ष उमेरभन्दा माथिका सबै महिलाले नियमित रूपमा पाठेघरको मुखको प्रारम्भिक जाँच गराउनुपर्दछ । एचआइभी सङ्क्रमित महिलाले २५ वर्षको उमेरदेखि नियमित रूपमा प्रारम्भिक जाँच गराउनुपर्दछ ।
नेपाल जनसाङ्ख्यिक सर्वेक्षणका अनुसार करिब ११ प्रतिशत महिलाले मात्र पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गराएका छन् । यसका प्रमुख चुनौतीहरूमा महिलामा सचेतना अभाव, स्वास्थ्य सेवामा सीमित पहुँच, दक्ष जनशक्ति अभाव, नियमित कार्यक्रमको कमी, कमजोर तथ्याङ्क व्यवस्थापन, सामाजिक लाजभाव र आर्थिक रहेका छन् । जसले गर्दा धेरै महिलामा रोग ढिलो चरणमा मात्र पत्ता लाग्ने र मृत्यु दर उच्च रहने गरेको डा देवकोटाले बताए ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया