पाल्पा । जिल्लाको तानसेनमा ब्लड बैंक सञ्चालनमा ल्याइएको छ । ‘हाम्रो ब्लड बैंक, हामी बनाउँछौँ’ भन्ने अभियान सुरु गरेको नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले आजदेखि ब्लड बैंक सञ्चालनमा ल्याएको हो ।
चार ठूला अस्पतालसहित एउटा डायलाइसिस सेन्टरका लागि रगत अभाव परिपूर्ति गर्ने उद्देश्यले तानसेनमा ब्लड बैंक सञ्चालनमा ल्याइएको शाखाका सभापति बाबुराम कार्कीले बताए । उनले भने, “यहाँ हुने रगत अभावको समस्यालाई समाधान गर्न रगत बैंक महत्त्वपूर्ण मानिएको छ । विगतमा रगत अभावका कारण आकस्मिक अवस्थाका बिरामी र परिवारलाई कठिनाइ व्यहोर्नुपरेको थियो । आगामी दिनमा रगत नपाएर मानिसको मृत्यु हुनबाट रोक्न यो कार्यक्रमले सहयोग गर्ने हामीले विश्वास लिएका छौँ ।”
मानिसको जीवन बचाउन सबैलाई रक्तदान कार्यक्रममा सहभागी हुन अध्यक्ष कार्कीले अनुरोधसमेत गरे । जिल्लामा हरेक महिना तीन सयदेखि तीन सय ५० प्वाइन्ट र वार्षिक रूपमा चार हजार ५०० प्वाइन्ट रगतको आवश्यकता पर्ने उनले उल्लेख गरे ।
दुर्घटना, प्रसूति, शल्यक्रिया तथा दीर्घकालीन बिरामीका लागि समयमै रगत उपलब्ध गराउन कठिनाइ भइरहेकाले बिरामीलाई रगतको अभाव हुन नदिन, आधुनिक रक्त बैंक स्थापना गरी सञ्चालनमा ल्याएको शाखा उपसभापति भीमसेन कार्कीले बताए ।
ब्लड बैंक सञ्चालनका लागि सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट रु ५० लाखमा अत्याधुनिक उपकरण, रामपुर नगरपालिकाबाट रु १० लाख बराबरको जेनेटर, रम्भा गाउँपालिकाबाट रु पाँच लाख बराबरको एसि र फ्रिज, रिब्दीकोट गाउँपालिकाबाट रु पाँच लाख बराबरको ब्याट्रीलगायत सामग्री खरिदका लागि सहयोग प्राप्त भएको रेडक्रसले जनाएको छ ।
रेडक्रसले विसं २०८० चैतदेखि साझा अभियानका रूपमा अगाडि बढाएको उक्त अभियानमा स्थानीय प्रदेश, सङ्घीय सरकारसँगै जिल्लामा रहेका र जिल्लाबाहिर रहेका पाल्पालीले पनि आर्थिक सहयोग गरेका छन् । ब्लड बैक भवन निर्माणका लागि सहरी विकास मन्त्रालयबाट गत वर्ष रु एक करोड ५० लाख र चालु आर्थिक वर्षमा रु तीन करोड रकम विनियोजन भएको थियो ।
नियमित रूपमा ब्लड बैंक सञ्चालन तथा चालु खर्च व्यवस्थापनका लागि रेडक्रस पाल्पाले विभिन्न व्यक्ति, सङ्घ संस्थाबाट रु ६८ लाख सङ्कलन गरेको जनाउँदै रकम सङ्कलन अभियान जारी रहेको शाखा कोषाध्यक्ष सन्तोष खनालले बताए ।
ब्लड बैंक सञ्चालन भएपछि आइपर्ने चुनौती र कठिनाइलाई समाधान गर्न शाखाले नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्ने, जनचेतनामूलक अभियानलाई निरन्तरता दिने, पालिकास्तरमा पुगेर रक्तदाताको रोष्टर तयार पार्ने शाखाका मन्त्री केशवराज नेपालले बताए।
तत्कालका लागि अस्थायी रूपमा शाखा कार्यालयमा ब्लड बैंक सञ्चालन गरिएको बताउँदै स्थायी रूपमा तानसेन नगरपालिका भुसालडाँडामा भवन निर्माण भइरहेको कार्यालय प्रमुख विनोद भारतीले जानकारी दिए।
ब्लड बैंक शुभारम्भ कार्यक्रममा पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले रक्तदानको आवश्यकता, यसको महत्त्व र सामाजिक प्रभावबारे सचेतना फैलाउँदै समुदायलाई नियमित रक्तदाता बन्न प्रेरित गर्न जिल्लाका सञ्चारमाध्यम तथा पत्रकार सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाए । रक्तदानले केवल जीवन जोगाउने मात्र नभई सामाजिक एकता र सहकार्यलाई बलियो बनाउने उनको भनाइ छ ।
बैंक सञ्चालनमा आएसँगै पाल्पामा अब आकस्मिक अवस्थामा रगतको लागि दौडधुप गर्नुपर्ने बाध्यता अन्त्य हुने, स्वास्थ्य सेवामा गुणात्मक सुधार आउने रेडक्रस पाल्पाका स्वास्थ्य संयोजक डा झपेन्द्र ढकालले विश्वास व्यक्त गरे ।
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया